रामेछापका पत्रकार श्रेष्ठले गरे १ लाख ११ हजारको अक्षय कोष स्थापना

रामेछापका पत्रकार श्रेष्ठले गरे १ लाख ११ हजारको अक्षय कोष स्थापना

नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि अक्षय कोष स्थापना गरी आफ्नी स्वर्गीय दिदी शान्ति लक्ष्मी श्रेष्ठको नाममा ‘शान्ति लक्ष्मी श्रेष्ठ ऊर्जाशील युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा श्रेष्ठले गर्नुभएको हो ।

शनिबार नेपाल प्रेस युनियन रामेछाप शाखाको ५औँ जिल्ला अधिवेशन तथा १०औँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै श्रेष्ठले आफूले दुई दशक लामो पत्रकारिता यात्रामा प्राप्त गरेका विभिन्न पत्रकारिता पुरस्कारबाट प्राप्त रकमलाई समेत समेटेर उक्त अक्षय कोष स्थापना गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण भए पनि राज्यको चौथो अंगका रूपमा पत्रकारहरूले जोखिम मोलेर जनताको आवाज बोल्दै आएको उल्लेख गर्नभयो । पत्रकारहरूको मेहनत र योगदानको सम्मानसँगै नयाँ पुस्तालाई पत्रकारिता पेसातर्फ आकर्षित गर्न पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

‘युवा पत्रकारहरूलाई पत्रकारिता पेसाप्रति आकर्षित र प्रोत्साहित गर्ने उद्देश्यले आफ्नी स्वर्गीय दिदीको नाममा यो पुरस्कार स्थापना गर्न लागेको हुँ,’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पुरस्कार प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा ऊर्जाशील र क्रियाशील युवा पत्रकारलाई प्रदान गर्ने गरी अक्षय कोष सञ्चालन गरिनेछ ।

नेपाल प्रेस युनियन रामेछापका अनुसार संगठनको इतिहासमा पहिलोपटक व्यक्तिगत पहलमा यति ठूलो राशिको पत्रकारिता पुरस्कार स्थापना हुन लागेको हो । पुरस्कारले जिल्लाको पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नुका साथै पत्रकारहरूको योगदानको सम्मान गर्ने अपेक्षा गरिएको छ ।

श्रेष्ठले आफूले पत्रकारिताबाट प्राप्त गरेको सम्मान र पुरस्कारलाई पुनः पत्रकारिता क्षेत्रकै हितमा लगानी गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार