रामेछापको उमाकुण्ड गाउँपालिका–४ च्यादलुमा अविरल वर्षासँगै आएको भलबाढीले बगाउँदा एक बालकको ज्यान गएको छ।
मंगलबार साँझ करिब ५ बजेको समयमा चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्कने क्रममा स्थानीय खोल्सामा आएको भलबाढीले ५ वर्षीय बालकलाई बगाएको हो।
प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–४ तिर्थे घर भई हाल सोही स्थानको गौरीखर्कमा मावली घरमा बसेर अध्ययन गर्दै आएका बिक्रम सुनुवारका छोरा सुसान्त सुनुवारलाई च्याखे धाराको खोल्सामा आएको भलबाढीले बगाएको थियो।
भलबाढीले बगाएपछि खोजी गर्ने क्रममा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


