रामेछाप अस्पतालमा पहिलोपटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सुरु

रामेछाप अस्पतालमा पहिलोपटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सुरु

रामेछाप अस्पतालमा पहिलोपटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सञ्चालनमा आएको छ। अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कल्पना बज्राचार्यबाट विशेषज्ञ सेवा सुरु गरेको हो।

नयाँ सेवा सञ्चालन भएसँगै महिलामा देखिने विभिन्न स्त्रीरोगसम्बन्धी समस्या, गर्भावस्था तथा प्रसूतिसम्बन्धी समस्या, नियमित गर्भजाँच, प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक उपचार अब रामेछाप अस्पतालमै विशेषज्ञ चिकित्सकबाट प्राप्त गर्न सकिने भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुनेछ। अस्पतालमा २४ घण्टा प्रसूति तथा आपत्कालीन सेवा समेत उपलब्ध रहेको जनाइएको छ। आवश्यकताअनुसार एलएससीएस (सिजेरियन) सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ।

रामेछाप अस्पतालले जिल्लाका नागरिकलाई आफ्नै जिल्लामा सहज, सुलभ र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सुरु भएपछि महिला तथा गर्भवती आमाहरूलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

अस्पतालका अनुसार नयाँ सेवाबाट गर्भावस्था तथा प्रसूति, महिलासम्बन्धी स्वास्थ्य समस्या, महिनावारीसम्बन्धी समस्या,पीसीओएस÷पीसीओडी, पाठेघर तथा अण्डाशयसम्बन्धी समस्या, परिवार नियोजन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र नियमित स्त्रीरोग परीक्षणलगायत सेवा उपलब्ध हुनेछन्।

अस्पतालले विशेषज्ञ सेवा सञ्चालनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी सचिव डा. सुमित्रा गौतमप्रति आभार व्यक्त गरेको छ।

रामेछाप अस्पतालले आगामी दिनमा पनि थप विशेषज्ञ सेवा विस्तार गर्दै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनका अनुसार विशेषज्ञ सेवा विस्तारलाई जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अभियानकै एक महत्वपूर्ण चरणका रूपमा लिइएको छ। अहिले अस्पतालमा हाडजोर्नी विशेषज्ञ,मानसिक स्वास्थ्य विशेषज्ञ र स्त्री तथा प्रसूति रोग विशेषज्ञले सेवा दिईरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार