बिहानको घाम बिस्तारै गाउँका डाँडाकाँडा छिचोल्दै बस्तीमा फैलिन थालेको छ। उमेरले ८१ वर्ष टेक्नुभएकी सुकाजोरकी डिलमाया मगर आफ्नै घरको आँगनमा बसिरहनुभएको छ। केही समयपछि वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरू उहाँको घरमै पुग्छन् र सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्छन्। भत्ता बुझ्दै गर्दा उहाँको अनुहारमा देखिएको सन्तुष्टि र खुसीले एउटा फरक कथा सुनाउँछ—नागरिकको घरदैलोमै पुगेको स्थानीय सरकारको कथा।
देशभर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था बैंकिङ प्रणालीमार्फत हुँदै गएको छ। बैंकमार्फत वितरण गर्दा पारदर्शिता र व्यवस्थापन सहज हुने तर्क गरिए पनि दुर्गम गाउँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकहरूका लागि भने यो प्रक्रिया सधैं सहज हुँदैन। बैंकसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने, यातायात खर्च व्यहोर्नुपर्ने तथा शारीरिक कठिनाइ झेल्नुपर्ने अझ बैंकसम्म पुगेपछि धेरै बेरसम्म लाइनमा बस्नुपर्ने अवस्था अझै धेरै ठाउँमा विद्यमान छ।
यस्तो अवस्थामा रामेछाप नगरपालिका–७, सुकाजोरले भने फरक अभ्यासलाई निरन्तरता दिइरहेको छ । वडा कार्यालयले अहिले पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। स्थानीयवासीका अनुसार यो अभ्यासले सेवाग्राहीलाई ठूलो राहत दिएको छ ।
८१ वर्षीया डिलमाया मगरका लागि भत्ता रकमभन्दा पनि त्यसले दिने सम्मान र सहजता महत्वपूर्ण छ। “ वडाबाट भागवत सर आएर घरमै आएर भत्ता दिनुहुन्छ। हामीजस्ता वृद्धवृद्धाका लागि यो ठूलो सहयोग हो,” उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो। नागरिकको घरमै पुगेर वडा सचिव भागवत कुमार श्रेष्ठले समाजिक सुरक्षा भत्ता वितरण गर्दै आउनुभएको छ ।
सुकाजोर मुडेखोलाकी ७३ वर्षीया विनमाया श्रेष्ठ पनि वडा कार्यालयको यस सेवाबाट सन्तुष्ट हुनुहुन्छ। वृद्धावस्थामा लामो दूरी हिँडेर भत्ता लिन जानुपर्ने बाध्यता हटेको भन्दै उहाँले घरमै सेवा पाउनु स्थानीय सरकारको सकारात्मक पहल भएको बताउनुभयो।
बिर्ताकी ८० वर्षीया विष्णुकुमारी श्रेष्ठको अनुभव पनि उस्तै छ। उहाँको गाउँ वडाकै टाढाको बस्तीमध्ये एक हो। “हामी बस्ने ठाउँ निकै टाढा पर्छ। उमेर ढल्किएपछि हिँडडुल गर्न सजिलो हुँदैन। घरमै भत्ता ल्याइदिँदा निकै खुसी लागेको छ,” उहाँले भन्नुभयो। साथै नागरिकको सहजतालाई ध्यानमा राखेर सेवा दिने जनप्रतिनिधिहरूको उहाँले प्रशंसा समेत गर्नुभयो।
स्थानीय तहको स्थापना हुनुको मूल उद्देश्य राज्यका सेवा नागरिकको नजिक पुर्याउनु हो। तर कतिपय अवस्थामा सेवा लिन नागरिक नै कार्यालय धाउनुपर्ने अवस्था रहन्छ। सुकाजोरको अभ्यास भने त्यसको विपरीत छ। यहाँ वडा कार्यालय आफैं नागरिकको घरदैलोमा पुगिरहेको छ।
विशेषगरी अशक्त, अपाङ्गता भएका व्यक्ति, एक्लो ज्येष्ठ नागरिक तथा स्वास्थ्य समस्याका कारण बाहिर निस्कन कठिनाइ हुने नागरिकहरूका लागि यो व्यवस्था निकै प्रभावकारी बनेको छ। घरमै भत्ता प्राप्त गर्दा उनीहरूलाई आर्थिक मात्र नभई मानसिक सन्तुष्टिसमेत मिलेको स्थानीयवासी बताउँछन्।
वडा अध्यक्ष समीर कार्कीका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सुकाजोर वडाले सम्भवतः देशभरमै पहिलो पटक घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान सुरु गरेको हो। “स्थानीय सरकारको अवधारणा भनेकै नागरिकको घरदैलोमा सेवा पुर्याउनु हो। यही सोचका साथ हामीले वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त नागरिकलाई लक्षित गरेर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कामको थालनी गरेका थियौँ,” अध्यक्ष कार्कीले भन्नुभयो।
उहाँका अनुसार यो अभियान सुरु गर्दा केही चुनौतीहरू भए पनि नागरिकको खुसी र सन्तुष्टिले त्यसको प्रतिफल दिएको छ। “भत्ता बुझ्न आउन नसक्ने बुबाआमा, अशक्त नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको घरमै पुगेर सेवा दिन पाउँदा हामीलाई पनि सन्तुष्टि मिल्छ। नागरिकले सरकारलाई आफ्नो घरआँगनमै अनुभूति गर्न सक्नुपर्छ भन्ने हाम्रो विश्वास हो,” उहाँले बताउनुभयो।
अहिले राज्यका धेरै सेवा प्रविधिमैत्री र बैंकिङ प्रणालीमा आधारित हुँदै गएका छन्। यो आवश्यक पनि छ। तर सबै नागरिकको पहुँच, अवस्था र आवश्यकता समान हुँदैन। विशेषगरी ग्रामीण भेगका ज्येष्ठ नागरिकका लागि सेवा प्राप्त गर्ने प्रक्रियामा मानवीय संवेदनशीलता अझै उत्तिकै आवश्यक छ।
सुकाजोरको घरदैलोमा भत्ता वितरण कार्यक्रमले यही सन्देश दिएको छ—सेवा केवल प्रविधि र प्रणालीको विषय मात्र होइन, नागरिकको अवस्थालाई बुझ्ने संवेदनशीलताको विषय पनि हो।
वृद्ध उमेरका नागरिकहरूलाई सम्मानपूर्वक घरमै सेवा प्रदान गर्ने यो अभ्यासले स्थानीय सरकारको वास्तविक अर्थ झल्काएको छ। राज्यको उपस्थिति नागरिकले आफ्नै घरको आँगनमा महसुस गर्न सक्दा मात्र सुशासन र सेवा प्रवाहको उद्देश्य सार्थक हुने देखिन्छ।
सुकाजोरका गाउँबस्तीमा भत्ता वितरणका क्रममा देखिने ज्येष्ठ नागरिकहरूको मुस्कानले यही कुरा पुष्टि गर्छ—स्थानीय सरकार साँच्चिकै नागरिकको घरदैलोमा पुगेको छ।


