बाँदरले बालीनाली खाएर दुःख दिएको रामेछापका किसानको गुनासो

बाँदरले बालीनाली खाएर दुःख दिएको रामेछापका किसानको गुनासो

रामेछाप जिल्लाका विभिन्न गाउँबस्तीका किसानहरूले बाँदरको आतंकका कारण खेतीपाती जोगाउन मुस्किल परेको गुनासो गरेका छन्। विशेषगरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पु¥याउन थालेपछि किसान चिन्तित बनेका हुन्।

जिल्लाको ग्रामीण क्षेत्रमा बाँदरका समूह खेतबारीमा पसेर पाक्न लागेका तथा रोपिएका बाली नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ। किसानहरूका अनुसार दिनभरि खेतबारी कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रातदिनको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखाप पार्ने गरेको छ ।

रामेछाप नगरपालिका ७ का किसान बालकुमार श्रेष्ठले वर्षभरिको आम्दानीको आधार मानिएको मकैबाली बाँदरले खाइदिँदा आर्थिक मारमा परेको बताउनुभयो । उहाँले बाँदरको डरले कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेको समेत उल्लेख गर्नुभयो ।

उहाँका अनुसार वन क्षेत्र नजिक रहेका बस्तीहरूमा समस्या झन् बढी देखिएको छ। वन विनाश, खाद्य अभाव तथा वन्यजन्तुको बासस्थान परिवर्तनका कारण बाँदरहरू मानव बस्तीमा प्रवेश गर्ने क्रम बढेको अनुमान गरिएको छ।

किसानहरूले पटक–पटक सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्न आग्रह गरे पनि प्रभावकारी उपाय लागू हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले बाँदर नियन्त्रण, बाली संरक्षणका लागि तारबार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।

यस विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि समस्या गम्भीर बन्दै गएको स्वीकार गरेका छन्। केही स्थानमा सामुदायिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गरिए पनि स्थायी समाधान हुन नसकेको उनीहरूको भनाइ छ।

बाँदरको बढ्दो आतंकले किसानको खेतीप्रति निराशा बढ्दै गएकाले समयमै प्रभावकारी योजना ल्याउनुपर्ने माग स्थानीयवासीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार