रामेछापको रामेछाप नगरपालिकाले जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकको सम्मान, संरक्षण तथा अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो।
सो कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले जेष्ठ नागरिक हाम्रो समाजको गहना भएकाले उहाँहरु विरुद्ध हुने दुर्व्यवहार अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले जेष्ठ नागरिकप्रति हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक दुर्व्यवहार अन्त्य गर्न परिवार, समुदाय र राज्य सबै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै दिवस मनाइएको बताउनुभयो । जेष्ठ नागरिकले भोग्नु परेको समस्या र स्थानीय सरकारसँग उहाँहरुको अपेक्षा बारेमा पनि उहाँहरुसँग कुराकानी गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा ७,८ र ९ नम्बर वडाका ५५ जना जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। रामेछाप नगरपालिकाले जेष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको उच्च कदर गर्दै उनीहरूको अधिकार संरक्षण तथा हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
हरेक वर्ष जुन १५ तारिखमा विश्वभर जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको चेतना दिवस मनाइने गरिन्छ। यस दिवसले जेष्ठ नागरिकमाथि हुने सबै प्रकारका हिंसा, विभेद र दुर्व्यवहार अन्त्य गर्न समाजलाई सचेत गराउने उद्देश्य राखेको छ।


