निःशुल्क शिक्षाको नारामाथि प्रश्न:रामेछापको गौरीशंकर माविमा विद्यार्थीसँग चर्को शुल्क असुली

निःशुल्क शिक्षाको नारामाथि प्रश्न:रामेछापको गौरीशंकर माविमा विद्यार्थीसँग चर्को शुल्क असुली

सरकारले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको भए पनि रामेछापको गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीबाट चर्को शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्।

सरकारले कुनै पनि बाहानामा विद्यार्थीसँग शुल्क नमिल्ने भने पनि सो विद्यालयले अभिभावकहरुसँग सहयोग भन्दै शुल्क असुलिरहेको छ । अभिभावकहरूका अनुसार विद्यालयले विभिन्न बहानामा रकम असुल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्नै समस्या भएको छ । नेपाली र अंग्रेजी दुईवटा माध्यममा पढाई हुँदै आएको सो विद्यालयमा नेपाली माध्यम तर्फ भर्ना हुँदा पनि चर्को शुल्क तिर्नु परेको गुनासो अभिभावकको छ ।

नेपालको शिक्षा ऐन, २०२८ को दफा १६घ अनुसार “नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन” भन्ने स्पष्ट व्यवस्था रहेको छ।

यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले पनि आधारभूत तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको अधिकार सुनिश्चित गरेको छ। तर व्यवहारमा भने धेरै सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क उठाइरहेको विषय पटक–पटक सार्वजनिक हुँदै आएको छ।

शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालाहरूका अनुसार सरकारी अनुदान अपर्याप्त हुँदा विद्यालयहरूले अभिभावकबाट शुल्क उठाउने प्रवृत्ति बढेको हो। गौरीशंकर माविको शुल्क असुलीबारे स्थानीय अभिभावकहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पारदर्शी हिसाब सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरूले “निःशुल्क शिक्षा” केवल नारामा सीमित नभई व्यवहारमा लागू हुनुपर्ने बताएका छन्। निजि श्रोतमा शिक्षकहरु राख्नुपर्ने अवस्था,पानी र बिद्युतको महसुल धेरै नै तिर्नुपर्ने भएका कारण अभिभावकसँग सहयोगको रुपमा शुल्क उठाउनुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार