रामेछापको रामेछाप नगरपालिका वडा नं ९ को राताटाहारमा झोल साबुन,सरफ र फिनेल बनाउने सीप विकास तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र माझि उत्थान संघ रामेछापको सहजीकरणमा तालिम संचालन गरिएको हो ।
बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । तालिममा १२ जना माझि समुदायका महिला,पुरुषहरुको सहभागिता रहेको थियो ।
घरेलु उद्योगमार्फत स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले राताटाहारमा तालिम संचालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे जानकारी दिनुभयो ।
तालिमका क्रममा सहभागीहरूलाई झोल साबुन, कपडा धुने सरफ तथा फिनेल उत्पादन गर्ने तरिका, आवश्यक कच्चा पदार्थको प्रयोग, सरसफाइ मापदण्ड र बजारीकरणका आधारभूत ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। तालिम अवधिभर सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जोड दिइएको थियो।
सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आफ्नै स्तरमा उत्पादन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार तालिम पश्चात् सहभागीहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराइनेछ, जसले दीर्घकालीन रूपमा स्थानीय उद्यमशीलता विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।


