नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरअन्तर्गत रामेछापको खड्ग दल गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमबाट १ सय ३२ जना सैनिक जवान दीक्षित भएका छन् ।
आज सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको हो । दलेल कवाजको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी भुवन खत्रीसहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले निरीक्षण एवं अवलोकन गरेका थिए । त्यसक्रममा उपरथी खत्रीले नौमहिने सैन्य आधार तालिममा उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै उपरथी खत्रीले राष्ट्र, जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिनुभयो । उहाँले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।


