रामेछापमा घर फोडी चोरी गर्ने दुई जना पक्राउ

रामेछापमा घर फोडी चोरी गर्ने दुई जना पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन तथा ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र सोही स्थानका करिब ३७ वर्षीय फेमस तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिलकुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका छोपी ढोकाको ताल्चा फुटाई दराजमा राखिएको १५ हजार रुपैयाँ नगद र आधा तोलाको सुनको तिलहरी चोरी भएको थियो। त्यस्तै सोही गाउँपालिका–६ का सुकदेव गौतमको घरबाट एचपी कम्पनीको ल्यापटप र ३ हजार रुपैयाँ नगद चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

घटनापछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो। प्रहरी चौकी गौश्वरा, प्रहरी चौकी दोरम्बा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीयको सहयोगमा शनिबार बिहान दोरम्बा शैलुङ गाउँपालिका–१ खोलाखर्कस्थित शैलुङ जाने बाटोमा मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा बा ६३ प ३९५ नम्बरको मोटरसाइकलमा सवार आटी तामाङ र फेमस तामाङको साथबाट चोरी भएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथमा रहेको झोलाभित्र नगरकोटीको घरबाट चोरी भएको सुनको तिलहरी र नगद तथा गौतमको घरबाट चोरी भएको ल्यापटप फेला परेको थियो।

बरामद सामान स्थानीयको रोहबरमा मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको र दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, लिखु तामाकोशी गाउँपालिका–६ माथिल्लो खिम्ती बजारमा रहेको चिया–खाजा पसल फुटाएर करिब १७ हजार रुपैयाँ बराबरका सामान चोरी भएको छ। स्थानीय बद्रीबहादुर थापाले सञ्चालन गर्दै आएको पसलको ढोकाको ताल्चा फुटाई बियर, लिची जुस, चुरोट र रेडबुललगायत सामग्री चोरी भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ खिम्ती प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक भोला काजी तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा सोही स्थानका २१ वर्षीय विनोद थापालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार