रामेछाप नगरपालिकामा कृषि मेला हुने भएको छ । नगरपालिकाले स्थानीय कृषक, उद्यमी तथा संस्थालाई लक्षित गर्दै कृषि मेला प्रदर्शनी–२०८२ मा सहभागिताका लागि सूचना जारी गरेको हो ।
यहि माघ २१ गते हुने मेलामा नगरका ९ वटै वडामा उत्पादन भएको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदर्शन गर्न आह्वान गरिएको छ । रामेछाप नगरपालिका ८ को बिहिबारे हाट बजारमा कृषि मेला आयोजना हुनेछ ।
नगरपालिका क्षेत्रभित्र उत्पादन तथा प्रशोधन भएका कृषिजन्य सामाग्रीलाई बजार प्रोत्साहन तथा पहिचान गराउने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा कृषि तथा पशुपालन र उद्यमीहरुबाट उत्पादित मालसामान प्रदर्शनीमा राखिने छ ।
मेलामा सहभागिताका लागि सामग्रीसँगै नाम दर्ता गर्ने कृषक तथा उद्यमीलाई उपयुक्त पुरस्कार तथा प्रोत्साहनको व्यवस्था समेत गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले जानकारी दिनुभयो ।
मेलाको समन्वय तथा सहभागिताका लागि कृषकलाई सम्बन्धित वडा कार्यालय, कृषि तथा पशु सेवा प्रवद्र्धन शाखा र उद्योग शाखासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।



