रामेछापमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

रामेछापमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रामेछाप जिल्ला प्रशासन कार्यालयले इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय, रामेछापले जारी गरेको सूचनाअनुसार जिल्लाभित्र विभिन्न व्यक्तिहरूको नाममा दर्ता भई इजाजतपत्र प्राप्त हातहतियार तथा त्यसको खरखजाना जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बुझाउनुपर्नेछ।

सूचनामा उल्लेख भएअनुसार इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार र गोलिगठ्ठा नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय, रामेछापमा बुझाउनुपर्नेछ। हातहतियार बुझाउँदा प्रहरी कार्यालय वा इकाइबाट अनिवार्य रूपमा निस्सा/भरपाई लिनुपर्ने व्यवस्था गरिएको छ।

हातहतियार बुझाउने अन्तिम मिति २०८२ माघ २० गते तोकिएको छ भने बुझाइएको हातहतियारको खरखजाना २०८२ चैत २० गतेपछि मात्र निस्सा/भरपाई पेश गर्ने सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको मितिभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.द्वारा हस्ताक्षरित भई २०८२ माघ ८ गते जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार