नेपाल टेलिकमको टावर निर्माणको काम अधुरो छोडेर ठेकेदार सुवास पौडेल सम्पर्कविहीन भएपछि करिब एक दर्जन मजदुर अलपत्र परेको खुलासा भएको छ। काम दिने बेला सक्रिय देखिने तर जिम्मेवारीको घडी आउँदा लुक्ने यस्तो प्रवृत्तिले निर्माण क्षेत्रमा श्रमिकको श्रम र श्रम मूल्यलाई जोखिममा पारेको मजदुरहरूको गुनासो छ।
रामेछाप नगरपालिका–९ का संगम श्रेष्ठका अनुसार ‘नेक्ट लाइन इन्फाकम प्रा.लि.’ मार्फत पौडेलले टावर निर्माणको लागि खाल्टा खन्ने र सोलिङ गर्ने जिम्मेवारी दिएका थिए। मजदुरले समयमै काम शुरु गरी आवश्यक सामग्री समेत लगानी गरे पनि काम बीचमै रोकियो। फोन गर्दा समेत ठेकेदारसँग सम्पर्क हुन नसकेको श्रेष्ठको भनाइ छ।
“काम अधुरो छ, सामग्री हामीले नै लगाएका छौं तर भुक्तानी रोकिएपछि मजदुर अलपत्र परेका छन्,” श्रेष्ठले भने, “फोनमा पनि उठाउँदैनन्, जवाफसमेत आउँदैन। व्यवसायीको यस्तो व्यवहारले मजदुरलाई आर्थिक र मानसिक दुवै दबाबमा पारेको छ।”
ज्याला नपाएपछि मजदुरहरूको दैनिक खर्च, ऋण र घरधन्दा प्रभावित भएको छ। बालुवा–गिटी तथा अन्य सामग्रीको भुक्तानीसमेत बाँकी रहेकाले उनीहरू थप तनावमा परेका छन्। यो व्यवहार कानुनी दृष्टिबाट समेत ठगी र श्रमिक शोषणको दायरामा पर्ने मजदुरहरूको तर्क छ।
बिहान–साँझको गुजारा चलाउनै चुनौती बनेको अवस्थामा ठेकेदारको गैरजिम्मेवारीले श्रमिकको जीवन असुरक्षित भएको छ। सम्बन्धित निकायले अनुगमन र कानुनी कारबाही नगर्ने हो भने यस्तो प्रवृत्ति दोहोरिने खतरा बढेको भन्दै मजदुरहरुले सम्बन्धित निकाएको ध्यानाकर्षण गराएका छन ।



