रामेछापमा ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

रामेछापमा ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ का अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

खड्गदल गणको आयोजनामा भङ्गेरी चोकदेखि डुकुरसिङ डाँडा हुँदै तिल्केस्थानगढीसम्म सैनिक ब्याण्ड, बाजागाजा र टुकडीसहितको पदयात्रा सम्पन्न भएको हो। पदयात्रामा जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

तिल्केस्थानगढीमा सम्पन्न औपचारिक कार्यक्रममा झण्डोत्तोलन तथा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो। सो अवसरमा राष्ट्र निर्माताप्रति नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले पृथ्वीनारायण शाहले समाजका सबै तह र वर्गसँग सहयोग माग्दै एकीकरण अभियान अघि बढाएको उल्लेख गर्नुभयो । “५० पैसाबाट सुरु भएको अभियानमा कालु पाण्डेजस्ता वीर शहीदहरूले जीवन आहुति दिएर राष्ट्र एकीकरणलाई सफल बनाएका थिए,” नगरप्रमुख न्यौपानेले भन्नभयो। एकीकरण प्रक्रियामा सर्वसाधारणले सुका–आठ आना पैसासमेत चन्दा उठाएर सहयोग गरेको तथ्य राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।

तिल्केस्थानगढी नेपाल–अङ्ग्रेज युद्धका सन्दर्भमा निर्मित महत्वपूर्ण किल्ला रहेको उल्लेख गर्दै न्यौपानेले सिन्धुलीको गढीगाउँ पहिलो नाका भएकाले अंग्रेज फौज उम्किएमा यहीँबाट प्रतिकार गर्ने रणनीति अनुरूप नेपाली सेनाले उक्त गढी निर्माण गरेको बताउनुभयो ।

खड्गदल गणका गणपति प्रमुख सेनानी प्रमोद पौड्यालले पदयात्रा भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो । ल्केस्थानगढी ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल–अङ्ग्रेज युद्धका बेला सिन्धुली गढीको विकल्पका रूपमा निर्माणबारे स्थानीय सूचनालाई अभिलेखका रूपमा सुरक्षित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । “राष्ट्रिय एकता, स्वाभिमान र आत्मगौरव अभिवर्धनसँगै हामी एक हौँ भन्ने भावना सुदृढ गर्न इतिहासको संरक्षण आवश्यक छ,” पौड्यालले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार