रामेछाप जिल्लामा लैङ्गिक हिंसाविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि घटनामा अपेक्षित कमी आउन नसकेको देखिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित हिंसाका घटनाहरू अझै पनि निरन्तर रूपमा उजुरीका रूपमा आउने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घरेलु हिंसा, मानसिक तथा शारीरिक दुव्र्यवहार, जबर्जस्ती करणी, बालविवाह तथा लैङ्गिक विभेदसँग सम्बन्धित उजुरीहरू पछिल्ला वर्षहरूमा घट्नुको सट्टा केही अवस्थामा बढ्दो क्रममा देखिएका छन्। विशेषगरी पारिवारिक विवाद, मदिरा दुव्र्यसन, गरिबी, अशिक्षा तथा सामाजिक कुसंस्कार लैङ्गिक हिंसाका मुख्य कारणका रूपमा देखिएका छन्।
वितेको ३ वर्षको तथ्यांकलाई हेर्दा रामेछापमा आ.व २०७९/०८० मा २०,२०८०/०८१ मा १६ र २०८१/०८२ मा ११ वटा घरेलु हिंसाका घटना भएको प्रहरीको तथ्यांक छ ।
वितेको ३ वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा जबर्जस्ती करणीको घटनामा भने केहि कमी आएको देखिएको छ । आ.व २०७९/०८० मा १२,२०८०/०८१ मा १३ र २०८१/०८२ मा ६ वटा ज.ज.कको घटना भएको छ ।
आ.व २०७९/०८० मा ज.ज.क उद्योग अन्तर्गत ३ वटा घटना भएका थिए । २०८०/०८१ मा २ र २०८१/०८२ मा २ वटा घटना प्रहरीकोमा दर्ता भएको हो ।
बहुविवाह तर्फ आ.व २०७९/०८० मा ३,२०८०/०८१ मा १ र २०८१/०८२ मा १ वटा उजुरी दर्ता भएको हो ।
कर्तव्य ज्यान तर्फ २०७९/०८० मा ५,२०८०/०८१ मा १ र २०८१/०८२ मा ४ वटा घटना भएको हो । अभद्र व्यवहार तर्फ २०७९/०८० मा २७,२०८०/०८१ मा २३ र २०८१/०८२ मा ९ वटा घटना भएको प्रहरीले जनाएको छ ।
आ.व.२०८०/०८१ मा २, २०८१/०८२ मा ३ वटा बाल यौन दुरुपयोगको घटना हुँदा यहि अवद्यिमा १ वटा मात्रै जात्तीय छुवाछुतको घटना उजुरीको रुपमा दर्ता भएको रामेछाप प्रहरीले जनाएको छ ।
जिल्लाका स्थानिय तह तथा गैरसरकारी संस्था र सरोकारवाला निकायहरूले लैङ्गिक हिंसा न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि, कानुनी सचेतना, क्षमता विकास तालिम तथा पीडितमैत्री सेवा प्रदान गर्दै आएका छन्। तर ग्रामीण भेगमा अझै पनि पीडितले खुला रूपमा उजुरी गर्न नसक्ने अवस्था रहेको सरोकारवालाहरूको भनाइ छ।
महिला अधिकारकर्मीहरूका अनुसार सामाजिक लाज, पारिवारिक दबाब, आर्थिक निर्भरता र कानुनी प्रक्रियाप्रति विश्वासको कमीका कारण धेरै घटना अझै पनि गोप्य रहने गरेका छन्। सकृय सुकाजोर महिला सन्जालकी अध्यक्ष राशी कार्की भन्छिन,“हिंसा अन्त्यका लागि कार्यक्रम मात्र पर्याप्त हुँदैन,सोच र व्यवहार परिवर्तन आवश्यक छ,” । लैङ्गिक हिंसा न्यूनिकरणका लागि राज्य, समाज र परिवार सबैको साझा प्रयास आवश्यक रहेको सरोकारवालाहरूको भनाई छ ।


