लिखु तामाकोशी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी झट्टेश्वर मावीले जित्यो 

लिखु तामाकोशी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी झट्टेश्वर मावीले जित्यो 

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ । झट्टेश्वर माविले २९ स्वर्ण, २० रजत र २० कास्य सहित जम्मा ६९ पदकका साथ रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्दै प्रथम स्थान सुरक्षित गर्न सफल भएको छ ।

यस्तै, १५ स्वर्ण, १५ रजत र १४ कास्य सहित कुल ४४ पदक जितेको चण्डेश्वरी मावी सैपु दोस्रो स्थानमा चित्त बुझाउन पर्यो । विद्यालयले प्रमाणपत्रसहित २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ११ स्वर्ण, १३ रजत तथा १३ कास्य सहित ३७ पदक हात पारेको अरुणोदय मावी सैपु तृतीय स्थान ओगट्न सफल भएको छ । विद्यालयले प्रमाणपत्रसहित १५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । सान्त्वना स्थान त्रिपुरेश्वर मावी दुर्गागाउँले ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक जित्दै प्रमाणपत्रसहित १० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।

तामाकोशी ज.जा. मावी खिम्ती २ स्वर्ण ४ रजत १२ कास्य, भृङ्गेश्वर मावी धारापानी २ स्वर्ण ४ रजत ६ कास्य, भृङ्गेश्वर मावी कोटगाउँ २ स्वर्ण १ कास्य, नवदर्शन मावी तिलपुङ १ स्वर्ण ६ रजत १३ कास्य, बुद्ध जनप्रिय मावी नागदह १ स्वर्ण १ कास्य र मावी ज्यामिरेखानी, खिम्तीले १ रजत ४ कास्य पदक प्राप्त गरेको छ । यसपटक भृक्षेश्वर मावी खोल्मागाउँ भने कुनै पदक जित्न असफल रह्यो ।

विहिवार झट्टेश्वर मावी धोबीको खेलमैदानमा सम्पन्न समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख अतिथि चिना खड्का कार्की, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रीन, गाउँ खेलकुद विकास समितिका अध्यक्ष सुनिल तामाङलगायत अतिथिले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो ।

गाउँपालिकाका ११ विद्यालयका खेलाडीहरूले ६६ विधामा प्रतिस्पर्धा गरेका थिए। विद्यालयस्तरमै प्रतिभाको पहिचान गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामसिंह डडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार