मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति  बनाउने

मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति  बनाउने

रामेछापको मन्थली नगरपालिकाले स्थानीय प्रारम्भिक बालविकास रणनीति बनाउने भएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले प्रारम्भिक बालविकास रणनीति निर्माण सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरी रणनीति बनाउने विषयमा छलफल गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलाय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समझदारीअनुसार मन्थली नगरपालिकासँगको सहकार्यमा चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सञ्‍चालति इसिडी हार्मोनी परियोजनामार्फत नगरपालिकाले कार्यशालाकोआयोजना गरी जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीबीच रणनीति निर्माण गर्ने विषयमा छलफल गरेको छ ।

नगर उप-प्रमुख ईश्‍वरी वस्‍नेतको अध्यक्षता एवम् नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा गत शुक्रबार र शनिबार सञ्‍चालित कार्यशालामा स्थानीय प्रारम्भिक बालविकास रणनीति निर्माण गर्ने विषयमा १४ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि र सम्बन्धित शाखाका प्रमुखहरुबीच छलफल भएको हो । कार्यशालाको औपचारिक सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख लव श्रेष्ठले स्थानीय आवश्यक्ता र परिवेशलाई ध्यानमा राखेर प्रारम्भिक बालविकास रणनीति बनाइनु पर्ने बताउनु भएको छ ।

नगर प्रमुख श्रेष्ठले केन्द्रीय सरकारले तयार गरेको रणनीतिका आधारमा स्थानीय प्रारम्भिक बालविकास रणनीति बनाउनुपर्ने भएपनि स्थानीय आवश्यक्तालाई पनि ध्यानमा राख्‍नुपर्ने बताउनुभयो । गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकासको लागि आवश्यक अवसर सुनिश्‍चित गर्ने गरी नगरले रणनीति तयार गर्ने बताउनुभयो ।

बालबालिकाको सर्वाङ्गीण विकासको अवसर सुनिश्‍चित गर्ने दायित्व सरकारको मात्र नभई मुख्यतः परिवारको भएकोले परिवारलाई पनि थप जिम्मेवार बनाउने गरी रणनीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि अभिभावक शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउनु पर्ने र उनीहरुलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो । यसैबीच नगर उप-प्रमुख ईश्‍वरी वस्‍नेतले पनि नगरभित्रका सबै बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक अवसलाई सुनिश्‍चित गर्ने गरी रणनीति बनाइने बताउनुभयो ।

नेपाल सरकार राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिको आधारमा स्थानीय प्रारम्भिक बालविकास रणनीति निर्माण गर्ने विषयमा छलफल भएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्‍वकर्माले बताउनुभयो ।

दिगो विकासका १७ वटा लक्ष्यमध्ये ११ वटा लक्ष्य प्रारम्भिक बालविकाससँग सम्बन्धित रहेको, त्यसको पक्षधर राष्ट्र भएको हिसाबले नेपालले २०८८ सालसम्म गर्भावस्थादेखि ८ वर्षसम्म उमेरका सबै बालबालिकाको सर्वाङ्गीण विकासको अवसरलाई सुनिश्‍चित गर्ने प्रतिबद्धता गरेको प्रसङ्ग‍ उल्लेख गर्दै उहाँले  सोही प्रतिबद्धतालाई सार्थक बनाउने उद्देश्यले रणनीति निर्माण गर्न लागिएको बताउनुभयो ।

कार्यशालामा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाकी कार्यकारी निर्देशक शशी वि.सी. मार्फत प्रारम्भिक बालविकासको परिचय, अवधारणा, महत्व रनेपाल सरकार राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति, २०७७-८८ बारे जनप्रतिनिधि र शाखा प्रमुखहरुलाई अभिमुखीकरण गराइएको थियो ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटोको संयोजकत्वमातीन सदस्यी प्रारम्भिक बालविकास रणनीतिमस्यौदा लेखन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नगर प्रवक्ता एवम् ८ नम्बर वडाका वडा अध्यक्ष गोपाल श्रेष्ठ र शिक्षा शाखा प्रमुख विष्णु अधिकारी छन् । सेतो गुराँस संस्था र नगरको मस्यौदा लेखन समितिले संयुक्त रुपमा रणनीतिको मस्यौदा तयार गरी दुई महिना भित्र रणनीति बनाउने सहमति भएको छ । १९ गतेदेखि २० गतेसम्म नगर सभा हलमा सञ्‍चालन भएको कार्यशालामा ४५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार