रामेछापको रामेछाप नगरपालिकाले मेलमिलापकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभा हलमा २ दिनसम्म अभिमुखिकरण कार्यक्रम चलेको हो । विवादको साटो मेलमिलापको बाटो भन्ने मूल नाराका साथ सामुदायिक मेलमिलापकर्ताहरुले विवाद समाधान गर्दै आएका छन ।
विवाद समाधानको क्रममा आइपरेका विभिन्न समस्याहरुको सहजिरकणको लागी भएको अभिमुखिकरण कार्यक्रम सोमबार(आज) सकिएको हो । विवाद समाधानको क्रममा मेलमिलापकर्तालाई परेको विभिन्न कानूनी समस्याहरुको बारेमा छलफल तथा अन्तरकृया भएको हो । मेलमिलापकर्ताहरुले गाउँघरमा लेनदेनको विषयसँग सम्बन्धित विवादहरु बढि मात्रामा आउने गरेको बताएका छन । बिना प्रमाणका लेनदेनसँग सम्बन्धित विवादहरु निरुपणमा समस्या पर्ने गरेको उनिहरुले सुनाए ।
कार्यक्रममा जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले मेलमिलापकर्ताहरुले राखेका विभिन्न कानूनी समस्याहरुको बारेमा प्रष्ट पार्नुभयो । उहाँले न्यायिक समिति तथा मेलमिलापकेन्द्रहरु अदालतभन्दा पनि ठुलो रहेको बताउनुभयो । अदालतमा आएका मुद्धाहरु वषौँसम्म पनि फैसला हुन नसकिरहेको अवस्थामा न्यायिक समिति तथा मेलमिलापकेन्दहरुले बिना झन्झट दुवैको जित हुने गरी निरुपण गर्दै आएको बताउनुभयो । यस प्रति नागरीकहरुको विश्वास बढ्दै गएको उहाँको भनाई छ ।
न्यायिक समितिका संयोजक एवं रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले नगरपालिकाले हरेक वर्ष विवाद समाधानमा सहजता ल्याउन मेलमिलापकर्ताहरुसँग न्यायाधीशसहिको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम गर्दै आएको बताउनुभयो । मेलमिलापलाई सबैको पहुँच र सहज बनाउन सबै वडामा वडाअध्यक्षको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको उहाँले बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा ९ वटै वडाका सूचिकृत मेलमिलापकर्ताहरु सहभागि थिए ।



