बीपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण शुरू

बीपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माण शुरू

पटक–पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गकाे स्थायी रूपमा निर्माण शुरू भएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डाैसँग जोड्ने छोटो दूरीका रूपमा रहेको राजमार्गको क्षतिग्रस्त सडक खण्डको तीन ठाउँबाट स्थायी पुनर्निर्माण थालेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

अघिल्लो वर्षको असोज दोस्रो हप्ता र यस वर्षको असोज तेस्रो हप्ताको बाढी पहिराले बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डमा गरी झन्डै ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । अहिले अस्थायी ट्र्याक बनाएर सडक सञ्चालन भइरहेको छ ।

ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आउँदाे दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माण हुने खण्डमा दुई लेनको सडक बन्नेछ । यस्तै पाँच वटा पुललाई दुई लेनमा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि एक अर्ब ३३ करोड ५३ लाख र नेपालथोकदेखि बर्खेखोलासम्म पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ ।

क्षति पुगेको कुल साढे २९ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ । यसका लागि दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार