रामेछाप जिल्लाका विभिन्न सामुदायिक तथा निजी वन क्षेत्रमा पाइने अमला फल बोटमै कुहिएर खेर जाने गरेको छ। स्वास्थ्यका दृष्टिले अत्यन्तै उपयोगी मानिने अमला काठमाण्डौँ सहितको मुख्य शहर तथा बजारमा विक्रि हुने गरेको भएपनि जंगलमा भने फलेर खेर गइरहेको छ ।
स्थानीयवासीका अनुसार जंगलमा प्रशस्त अमला फले पनि संग्रह र संरक्षणको उचित व्यवस्था नहुँदा धेरै मात्रा नष्ट हुने गरेको छ । वन उपभोक्ता समूहका पदाधिकारीहरूका अनुसार अमला संकलन र प्रशोधनका लागि आवश्यक तालिम, उपकरण र बजार प्रणालीको अभाव मुख्य चुनौती हो । पछिल्ला वर्षमा वन उपभोक्ता समूहहरूले जडीबुटी तथा फलफूल संकलनका विषयमा केही कार्यक्रम थाले पनि पर्याप्त प्रभाव देखिन सकेको छैन ।
अमला भिटामिन ‘सी’ को राम्रो स्रोत मानिन्छ । यसबाट अचार, सुकुटी, चूर्ण, स्वास्थ्योपयोगी पेयलगायत धेरै परिकार बनाउन सकिने विशेषज्ञहरूको भनाइ छ । तर उत्पादन प्रशोधन र बजार विस्तार नभएकै कारण यसको आर्थिक मूल्य स्थानीयमा पुग्न सकेको छैन ।
स्थानीयले सरकार र सम्बन्धित निकायलाई अमला संकलन केन्द्र, प्रशोधन तालिम र बजार जुराइदिने व्यवस्था मिलाउन नागरीकहरुले आग्रह गरेका छन् । वर्षेनी लाखौँ रुपैयाँ बराबरको अमला जंगलमै कुहिएर खेर जाने गरेको छ ।


