जुनार खेतीले पहिचान बनाएको रामेछापको हिलेपानी गाउँ अब अकबरे खुर्सानी खेती मार्फत पनि चिनिन थालेको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीका धेरै युवाहरु अकबरे खुर्सानी खेती तर्फ आकर्षित भएका छन । आजभन्दा धेरै वर्ष अघि हिलेपानीका चुडा बहादुर कार्कीले व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरे । उनले गाउँमै अकबरे खुर्सानीको अचार उद्योग समेत खोले । जिल्लामा मात्रै नभएर देशका विभिन्न ठाउँमा यहाँको अचार पुग्थ्यो ।
उनि देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा अचारको स्वाद चखाउन र यसको खेतीलाई विस्तार गर्न प्रचार प्रचार गर्दै हिँड्थे । गाउँका केही मानिसहरुलाई उनले आफ्नो घरेलु उद्योगमा रोजगारी समेत दिएका थिए । तर वितेको २÷३ वर्षदखी यो उद्योग बन्द छ । उद्योग बन्द भएपनि चुडा बहादुरले खुर्सानी खेती गर्न भने छाडेका छैन्न । उनले अहिले पनि अकबरे खुर्सानी खेती गरिरहेको छन । उनलाई धेरैले अकबरे बा भनेर पनि चिन्ने गर्दछन ।
उनिबाट प्रभावित भएर उनकै आग्रहमा हिलेपानीका राम कुमार काकीले विगत ३ वर्षदेखी अकबरे खुर्सानी खेती गर्दै आएका छन । ५ वर्ष भन्दा बढी समय विदेशमा बसेर नेपाल आएर व्यवसायसँगै कृषिमा सम्भावना खोजिरहेका राम कुमार अकबरे खेती मार्फत गाउँमै समृद्धि खोज्दै छन । साँढे २ रोपनी जमिनमा उनले अकबरे खेती गरेका छन । २ सय बोट रोपेर खेती सुरु गरेका उनले दोश्रो वर्ष एक हजार बोट अकबरे रोपे । यो वर्ष थप एक हजार बोट रोपेका उनको बारीमा अहिले २२ सय बोट अकबरे खुर्सानी छ । सबै बोटहरुले राम्रो उत्पादन दिँदै आएको छ ।
उनले गत वर्ष खुर्सानी बेचेर एक लाख ५० हजार रुपैयाँ आम्दानी गरे । यो वर्ष अहिले लटरम्मै फलेका खुर्सानी हरियो तथा पाकेका दानाहरु बिक्रि भैरहेको छ । घरबाटै किलोको २ सय रुपैयाँमा बिक्रि भैरहेको अकबरे खुर्सानीको माग अनुसार उत्पादन गर्न भने नसकिएको उनले बताए । यो वर्ष २ लाख ५० हजार आम्दानी हुने अपेक्षा गरिएको उनले सुनाए । उनि भन्छन् ‘सिँचाईको समस्या र रोग किराको प्रकोपका कारण अझै सोचे अनुसार विस्तार गर्न सकिएन ।’ आगामी वर्ष मकै खेती मासेर भएपनि खुर्सानी खेतीलाई व्यापक बनाउने योजना रहेको उनले बताए ।
जुनार खेतीमा सकृय रहेका राम कुमारले जुनार बगैँचामै घुसुवा बालीको रुपमा अकबरे खुर्सानी लगाएका हुन । जुनार बेचेर गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका उनले खुर्सानी खेतीबाट पनि राम्रै आम्दानी गरिरहेका छन । उनि भन्छन,‘३ सय बोट जुनार र २२ सय बोट खुर्सानीबाट ५ लाखभन्दा बढी आम्दानी गरिरहेको छु ।’अन्य बालीको तुलनामा कम मिहिनेत गर्नुपर्ने र पानी तथा मल पनि कम भए पुग्ने भएकाले पछिल्लो समय अकबरे खुर्सानीको खेती गर्नेहरु बढेका छन । हिलेपानीमा चुडा बहादुर कार्की,राम कुमार कार्की,धनराज खड्का लगायतले व्यवसायिक रुपमा अकबरे खेती गर्दै आएका छन । एक पटक लगाएको बिरुवाबाट अर्को वर्षसम्म पनि उत्तिकै उत्पादन हुने हुँदा अकबरे खेतीबाट राम्रो फाइदा हुने उनिहरुको भनाई छ ।
असारदेखी उत्पादन सुरु भएको खुर्सानीले पौष महिनासम्म आम्दानी दिने र यहाँ उत्पादन भएको अकबरे खुर्सानी धेरैजसो तराईको जिल्लामा पुग्ने किसान राम कुमार कार्कीले बताए । हिलेपानीको अकबरे खुर्सानी तराईका जिल्लाबाट धेरै माग आउने गरेको छ । हिलेपानीका ७८ वर्षिय गोपाल बहादुर महताराले अकबरे खुर्सानीको असली स्वाद हुने बताए । उनले भने,‘अकबरे खुर्सानी पिरो हुन्छ । पिरोको पनि आफ्नै स्वाद हुन्छ । यसमा एक किसिमको वास्ना पनि महसुस गर्न सकिन्छ ।
अबकरे खुर्सानीले कुनै हानी गर्दैन ।’ अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुने बताईन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुने जानकारहरुको भनाई छ । अकबरे खुर्सानीले मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाई कम गर्न सहयोग गर्छ । यति धेरै फाईदाहरु भएको अकबरे खुर्सानीको खेती,उत्पादन र बजारीकरणले यहाँको समृद्धि सम्भव छ ।
अकबरे खुर्सानी खेतीले यहाँका किसानहरूलाई नगद आम्दानीको स्रोत र व्यावसायिक खेतीको नयाँ चेहरा दिएको छ । थोरै लगानी र सहज बजार संयोजनले गर्दा किसानहरूको आकर्षण बढेको छ । तर, बजार अवरोध,मूल्य वृद्धिमा असहजता र लजिस्टिक चुनौतिहरू जस्ता विषयहरू तत्काल सम्बोधन हुन आवश्यक छन् । यस्तो परिस्थितिमा स्थानीय तह, प्रदेश सरकार र कृषिसँग सम्बन्धित संघसंस्थाहरुले मूल्य सुनिश्चित गर्ने र दीगो खेती प्रोत्साहन गर्न योगदान पु¥याउन आवश्यक छ ।