रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा छ । ९ वटै बवडाहरु एकै साथ यहि जेठ २७ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भैसकेका छन । वडा घोषणाको भोली पल्ट बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइएको भएपनि शनिबार(आज) प्रदेश स्तरीय समितिले अनुगमन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकृत असिम घिसिङ्ग,प्रदेश नीति तथा योजना आयोगका अधिकृत अच्युत प्रसाद उपाध्याय,एनसिएफएलजीका अध्यक्ष अशोक खनाल सहितको टिमले केही वडा र विद्यालयहरुको अनुगमन गरेको हो । अनुगमनसँगै सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका महिला विकास निरिक्षक सरिता बुढाथोकीले बालमैत्री स्थानीय शासन घोषणाका लागी हालसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । नगरपालिकाले २०७८ फागुन महिनादेखी बालमैत्रीको काम सुरुवात गरेको थियो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरेले घोषणा पश्चात दिगोपनाको लागी समस्या रहेको बताउनुभयो । स्थानिय तहमा कम श्रोत र साधन भएका कारण दिगोपनामा समस्या रहेको र यसका लागी संघ र प्रदेशले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । संघ र प्रदेशको सहयोग बिना यसलाई निरन्तरता दिन समस्या रहेको उहाँले बताउनुभयो । प्रदेशले घोषणापछिको दिगोपनाको लागी हरेक वर्ष छुट्टै बजेट विनियोजन गर्नुपर्ने उहाँको सुझाव छ ।
रामेछाप नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले बालमैत्री स्थानीय शासन कार्यक्रम सुरु भएदेखी हालसम्म २७ जना विद्यालय छाडेका बालबालिकालाई विद्यालयसम्म पुर्याइएको बताउनुभयो । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा,पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा जस्ता धेरै कार्यहरु भैसकेको भन्दै उहाँले अब नगर घोषणा पश्चात दिगोपनामा सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रदेश स्तरीय अनुगमन समितिले विभिन्न सुझावहरु दिएको र ति सुझावहरु सुधार गरे पश्चात मात्रै नगर घोषणाको तयारीमा जुट्ने उपप्रमुख बाल कुमारी कार्कीले बताउनुभयो । बालमैत्री कार्यक्रम सुरुभएदेखी बालबालिकामा नेतृत्व विकास,क्षमता विकास,उद्घोषण कलामा विकास लगायत धेरै देखिने खालका परिवर्तनहरु आएको बताउनुभयो । प्राथमिकता अनुसार कतिपय बालमैत्री संरचनाहरु निर्माण भैसकेको,कतिपय निर्माणको चरणमा रहेको र कतिपय निर्माण गर्नुपर्नेलाई सोही अनुसार राखेर कामहरु गरिएको उहाँले बताउनुभयो । तिनै तहको सरकारको साथ र सहयोगले मात्रै यस्ता कार्यक्रमहरुलाई दिगोपना दिन सकिने उहाँले बताउनुभयो ।
जिल्लाकै मन्थली नगरपालिका पनि बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा छ । प्रदेश स्तरीय अनुगमन समितिले शुक्रबार मन्थली नगरपालिकामा पनि अनुगमन गरिसकेको छ । जिल्लाका दुई नगरपालिका बालमैत्री घोषणाको अन्तिम तयारीमा जुटेका छन ।