रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ ।
हिउँदको सयमा धुलो र वर्षातको समयमा सडक हिलाम्मे हुँदा रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका छन् । रामेछाप नगरपालिका वडा नं २ का वडाअध्यक्ष निर कुमार श्रेष्ठले सडक निर्धारित समयमा नबन्दा यात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताउनुभयो ।
भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।
सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले बारम्बार म्याद थप्दै लगेको छ ।
रामेछापको सालु, देउराली, साँघुटार,ओखलढुंगाको लिखु, घोराखोरी लगायतका क्षेत्रमा जाने यातायात साधन यही सडक भएर चल्दछन् । बाटो हिलो र चिप्लो भएको कारण सालुदेखि साँघुटारसम्म यातायात साधनहरू घण्टौँ फस्ने र फसेका गाडी यात्रुहरूले डोरी लगाएर तान्ने गर्दछन् । अरु समयमा भन्दा वर्षातको समयमा यो सडक भएर यात्रा गर्दा निकै सास्ती खेप्नु परेको यात्रीहरुले बताएका छन ।
स्थानिय सरकारलाई टेर्दैन निर्माण कम्पनी :
५ वर्षदेखी यो सडक निर्माणको काम जारी छ । यतिका वर्ष भैसक्दा पनि सडक निर्माणको कामले गति लिन सकेको छैन । रामेछाप नगरपालिकाले सडक निर्माणको काम छिटो सक्न बारम्बार निर्माण कम्पनीलाई आग्रह गर्दै आएको भएपनि निर्माण कम्पनीले कुनै चासो नदेखाएको रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो ।
भारतीय एक्जिम बैङ्कका प्रतिनिधीसँग दर्जनौँ पटक छलफलमा बसेर लिखित तथा मौखिम निर्देशन दिएको भएपनि काममा गति आउन नसकेको उहाँले बताउनुभयो । यो सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजार समेत अस्तव्यस्त बनेको उहाँले बताउनुभयो ।