रामेछाप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रामेछाप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

जिल्लास्तरीय खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयले बुधबार(आज) एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जिलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो ।

सो कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा देखिने खालका कामहरु गरेको बताउनुभयो । आम नागरीकको सेवालाई सहज र सरल बनाउन १३ वटै प्रादेशिक अस्पतालहरु संचालनमा रहेको र ति अस्पतालहरुबाट गुणस्तरीय सेवा प्रवाह भैरहेको उहाँले बताउनुभयो ।

पत्रकारहरुको स्वास्थ्य बिमामा लाग्ने रकम यस वर्षदेखी स्वास्थ्य मन्त्रालयले व्यहोर्ने उहाँको भनाई छ । आगामी आ.व.मा पनि स्वास्थ्य क्षेत्रमा राम्रो बजेट विनियोजन भएको भन्दै उहाँले सुत्केरी हुन नसकेका महिलाहरुलाई हवाई उद्धार गर्ने कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । आफुसँग स्थानिय तहमा काम गरेको राम्रो अनुभव रहेको भन्दै मन्त्री थापा मगरले प्रत्येक पालिकामा वृहत स्वास्थ्य शिविर संचालन गरिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने,स्थानिय तह,सबै स्थानीय तहका स्वास्थ्य शाखा,विभिन्न कार्यालय,महिला स्वास्थ्य स्वयमसेवीका लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बाग्मती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख,जिल्ला स्थित विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुख,विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,राजनितीक दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार