रामेछाप नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

रामेछाप नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

रामेछापको रामेछाप नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी कान्छारामले सबै मिलेर घोषणा गरे जसरी निरन्तरता दिन पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागी आफु सधैं प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नका लागी सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालको संविधानको भाग ३,धारा ३१ को उपधारा २ मा अनुसूचि ८ को बुँदा नं ८ र बाग्मती प्रदेश सरकारबाट स्वीकृत अनिवार्य तथा निशुल्क शिक्षा अनुदान सम्बन्धि कार्यविधि २०८१ बमोजिम रामेछाप नगरपालिकामा ४ वर्ष देखी १३ वर्ष उमेर समुहका कुनैपनि बालबालिकाहरु विद्यालय बाहिर नरहेकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको बताइएको छ । नगरपालिकामा आधारभूत तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको र यसको दिगोपना सुनिश्चितताका लागी सबै लाग्नुपर्नेमा नगर प्रमुख न्यौपानेले जोड दिनुभयो ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रममा उपस्थित सबैले हस्ताक्षर सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बोल्ने अधिकांश वक्क्ताहरुले घोषणा भएर मात्रै नहुने भन्दै यसको दिगोपनामा पनि नगरले काम गर्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार