विश्व रक्तदाता दिवसको अवसरमा रामेछापमा रक्तदान र अन्तरक्रिया कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछापले दिवसको अवसरमा रक्तदान सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । रामेछाप अस्पतालमा भएको रक्तदानमा १४ जनाले रगत दान गरेका छन ।
रामेछाप अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय र जनस्वास्थ्य कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । यसैगरी दिवसकै अवसरमा रक्तदान सम्बन्धि अन्तरक्रिया गरिएको छ । जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झा ले रक्तदानको फाईदा,महत्व लगायतका बारेमा जानकारी गराउनुभयो ।
उहाँले युवाहरुलाई रक्तदान सम्बन्धि सचेतना जगाउनुपर्ने बताउनुभयो । हरेक व्यक्तिले ३/३ महिनाको फरकमा रक्तदान गरे रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभयो । कार्यक्रममा धेरै पटक रक्तदान गर्ने व्यक्ति तथा विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थालाई समेत सम्मान गरिएको हो ।
हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभर रक्तदाता दिवस मनाउने गरिन्छ ।मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ तारिखको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो ।
यो दिवसको मुख्य उद्देश्य सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउनु र रक्तदान गर्न प्रेरित गर्नु रहेको छ ।साथै आजको दिन रक्तदातालाई धन्यवाद दिने दिनका रुपमा पनि मनाउने गरिन्छ । यस वर्षको दिवस ‘रक्तदान गरौँ, आशा जगाऔँ, सबै मिली जीवन बचाऔँ’ रहेको छ ।