रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार(आज) रामेछाप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नुभयो । यसका लागी लागिपर्ने सम्पूर्णमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । अब छिट्टै पालिकालाई पनि घोषणा गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।
कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र नगर प्रवक्ता समिर कार्कीले पनि घोषणा भए अनुसार यो कार्यलाई दिगोपना दिन सबै लाग्नुपर्ने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झा ले यहि असार पहिलो हप्तासम्म जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने बताउनुभयो । अहिले जिल्लामा वडा तथा पालिका घोषणा कार्यक्रम चलिरहेको बताउनुभयो ।
पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षणसमेत गरिएको रामेछाप नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु बहादुर कार्कीले बताउनुभयो । सर्वेक्षण पश्चात अनुगमन गरेर प्रमाणिकरण भएपछि घोषणा गरिएको उहाँले बताउनुभयो ।
पूर्णखोप सुनिश्चितताको प्रतिबद्धता पत्रसमेत जारी गरेर नगर प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई लगायत सरोकारवाला सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन ।