रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई छ ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले नगरपालिकामा रहेका सहकारीहरुमा ठुलो समस्या नरहेको बताउनुभयो । सानातिना समस्याहरु रहेकाले ति समस्याहरु समाधान हुने खालका रहेको उहाँले बताउनुभयो । नगरका कुनै पनि सहकारीहरुमा समस्या नआवस भन्नको लागी यस प्रकारको तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।
दुई दिनसम्म चलेको तालिममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत बिमला पुडाशैनीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले तालिम निकै उपलब्धीमूलक रहेको बताएका छन । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा नगरका ४० वटा सहकारीका संचालक तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकामा रहेका सहकारीहरुलाई व्यवस्थित ढंगबाट संचालन गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेलेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो । यहि जेठ ६ र ७ गते पनि सहकारीका कर्मचारीहरुलाई पनि क्षमता विकास तालिम आयोजना गरिएको छ ।