रामेछाप नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

रामेछाप नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । यहि जेठ महिनाभरीमै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी कामहरु भैरहेको नगरपालिकाका महिला विकास निरिक्षक सरिता बुढाथोकीले बताउनुभयो ।

बुधबार(आज) बालमैत्री स्थानिय शासन अवस्था सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा महिला विकास निरिक्षक बुढाथोकीले हालसम्म भएको प्रगती विवरण प्रस्तुत गर्नुभयो । नगरपालिकाले ४ वर्षअघिदेखी बालमैत्री नगर घोषणाको लागी आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो ।

विभिन्न सूचकहरु पुरा गर्दै अब भने घोषणाको अन्तिम तयारीमा पुगेको छ । नगरपालिकाले यसका लागि हालसम्म रु दुई करोड ११ लाख बढी रकम खर्च गरिसकेको महिला विकास निरिक्षक बुढाथोकीले बताउनुभयो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ९ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले जिल्ला समन्वय समितिमा सिफारिस गर्ने तयारी गरेको हो ।

नगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको र अब प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो ।

जिल्लास्तरीय समितिको अनुगमन र निर्णय पश्चात बाग्मती प्रदेशस्तरीय समितिले अनुमोदन गरेपछि बालमैत्री नगर घोषणा हुने उहाँले बताउनुभयो । बालमैत्री नगरपालिका घोषण पश्चात नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै जाने प्रमुख प्रशासकिय अधिकृत चापागाईले बताउनुभयो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बालमैत्री नगरपालिका घोषणासँगै कार्यान्वयनमा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यसमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार,संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुले विभिन्न सुझाव तथा प्रश्न राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार