रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्गमा माघि पर्व मेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल मगर संघ वडा समितिले एक कार्यक्रमको आयोजना गरी माघि पर्व मेला कार्यक्रम गरेको हो ।
मगर समुदायको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी माघि पर्व मेला गरिदै आएको छ । यस वर्ष पनि विभिन्न सांस्कृति कार्यक्रम सहित मेला सम्पन्न भएको हो ।
रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उहाँले संस्कृतिका धनि मगर समुदायको विशेष पर्व माघिले सबैमा एकताको सन्देश दिएको बताउनुभयो । मगर जातिको भाषा,कला,संस्कृति र भेषभूषा संरक्षणमा पनि यो पर्वले महत्वपूर्ण भूमिका खेलको उहाँले बताउनुभयो ।
रामेछाप नगरपालिकाको विकट गाउँको रुपमा रहेको बोलङ्ग बोलङ्गले निवर्तमान नगर प्रमुख नर बहादुर थापा मगर पाएपछि मुहार फेरेको बताउनुभयो । गाउँमा सडक,खानेपानी,विद्युत,स्वास्थ्य संस्था जस्ता विकासका पूर्वाधारहरु निवर्तमान नगर प्रमुखकै पालामा पुगेको भन्दै उहाँले अब बाँकी कामहरु पनि क्रमश हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले मगर जातिहरुको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा नगरपालिकाले उनिहरुको भाषा,कला,संस्कृति संरक्षणमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मगर जातिको विभिन्न नाचहरु,धामी नाच,मगर भेषभूषा सहितको विभिन्न नाचहरु प्रदर्शन गरिएको थियो ।