रामेछाप अस्पताल रामेछापले आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रम गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण कार्यक्रम गरिएको हो ।
सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता,पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक/व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने विश्लेषणात्मक लेखाजोखा नैं सामाजिक परीक्षण भएकाले सरोकारबालाहरुको बीचमा कार्यक्रम गरेको हो ।
अस्पतालले अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो । अस्पतालको सेवा प्रवाह समुदायले महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउन भनेर सामाजिक परीक्षण गरेको उहाँको भनाई छ ।
आफू आएपछी अस्पतालमा निकै सुधार ल्याएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,नगर प्रवक्ता समिर कार्की,पत्रकार महासंघका अध्यक्ष दिपक कुमार घिमिरे,निवर्तमान अध्यक्ष बद्रि नयाँघरे लगायतले अस्पतालले सामाजिक परीक्षण कार्यक्रम गरेको भन्दै धन्यवाद दिनुभयो ।
उहाँहरुले बिरामी तथा सेवाग्राहिरुको गुनासोहरु सम्बोधन हुने गरी काम गर्न अस्पतालाई आग्रह गर्नुभयो । अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रालिले गरेको थियो ।