रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष पाख्रिनद्धारा पदभार ग्रहण

रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष पाख्रिनद्धारा पदभार ग्रहण

रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गर्नुभएको छ । उहाँले बुधबार(आज) पदभार ग्रहण गनुर्भयो । पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथी एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नवनियुक्त अध्यक्ष पाख्रिनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नमुना अस्पताल बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले गत वर्षहरुमा पनि अस्पताललाई धेरै सहयोग गरेको भन्दै उहाँले राम्रो कामहरुमा जहिले पनि सहयोग रहने बताउनुभयो । सोही कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीले रामेछाप अस्पताललाई अहिलेको स्थितीमा ल्याइपुर्याउन अध्यक्ष पाख्रिनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

पहिलो कार्यकालमा निकै राम्रो कामहरु भएको भन्दै उहाँले अस्पतालमा केही समान्य विवादहरु रहेको र ति विवादहरुलाई चिर्नेगरी काम गर्न उहाँले अनुरोध पनि गर्नुभयो । सोही कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिका वडा न ं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले आफु पनि अस्पताल व्यवस्थापन समितिमा बसेर काम गरेको अनुभव रहेको बताउनुभयो । उहाँले अध्यक्ष पाख्रिनको नेतृत्व शैली र काम गर्ने जोस अनि जाँगरको प्रशंसा गर्नुभयो । अस्पतालमा कुनै पनि विवाद नआउने गरी उत्कृष्ट काम गर्न उहाँले अस्पतालका कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले अध्यक्ष पाख्रिन र आफुहरु सबै कर्मचारीको सहकार्यले उत्कृष्ट अस्पताल बनाउन सफल भएको बताउनुभयो । ५० वेडको अस्पताल बनाउने घोषणा भएको भएपनि कार्यान्वयनमा आउन नसकेको भन्दै यसको कार्यान्वयनमा अध्यक्ष पाख्रिनले महत्वपूर्ण भूमिका खेल्नुहुने बताउनुभयो । ‘कैयौँ पटक अस्पतालको विकासको लागी आफ्नै खर्चमा अध्यक्ष ज्यु र म मन्त्रालय धाएका छौँ । फेरी पनि अस्पतालले उहाँ जस्तो अध्यक्ष पाएकोमा हामी खुशी र हर्षित छौँ ।’ उहाँले भन्नुभयो ।

पदभार ग्रहण गर्दै अध्यक्ष पाख्रिनले ५ वटा महत्वपूर्ण निर्णय तथा प्रतिबद्धताहरु व्यक्त गर्नुभयो । उहाँले विद्युत व्याकपको दिगो समस्याको समाधानको लागी सम्बन्धित निकायहरुसँग समन्वय गरि अस्पतालको प्रणालिलाई धान्न सक्ने सौर्य विद्युतको व्यवस्थापन गर्ने र मन्थली सवस्टेशनबाट अस्पतालको लागी फिडरको प्रक्रिया अघि बढाउने निर्णय तथा प्रतिबद्धता गर्नुभयो ।

स्विकृत दरबन्दि र त्यहि अनुसारको विशेषज्ञ सेवाहरु उपलब्ध गराउन पहल गर्ने निर्णय पनि उहाँले गर्नुभयो । स्विकृत ५० वेडको अस्पतालको लागी आवश्यक भौतिक संरचनाको डिपिआर तयार गरी सम्बन्धित निकायबाट स्विकृत गराई बजेट व्यवस्थापनको लागी पहल गर्ने साथै अस्पताल परिसरको कम्पाउन्ड वालको लागी बजेटको व्यस्थापन गराउन पहल गर्ने निर्माण भएको छ ।

यसैगरी अस्पताल परिसरमा रहेका आगालागीको जोखिम रहेको सल्लाको रुखहरुको व्यवस्थापन गर्ने समेत निर्णय भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा विस्तार गरी संचालन गर्ने निर्णय तथा प्रतिबद्धतामा अध्यक्ष पाख्रिनले हस्ताक्षर गर्नुभयो ।

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको यहि पौष ७ गतेको निर्णय अनुसार रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पाख्रिन नियुक्त हुनभएको हो । यस भन्दा अघि पनि पाख्रिनले अस्पताल व्यवस्थापन समितीको अध्यक्ष भएर काम गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार