रामेछापको रामेछाप नगरपालिकाले जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारको अनुगमन गरेको छ । केही दिन अघिको अविरल वर्षाले खुर्कोटको पुल बगाएपछि सवारी आवागमन ठप्प रहेको बेला बजारमा व्यापारीहरुले सामानको मूल्य बढी लिएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको हो ।
मंगलबार(आज) नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको संयोजकत्वमा भएको बजार अनुगमनमा खाद्यान्न तथा पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा पसलहरुमा मौज्दात सामान रहे नरहेको,बढी मुल्य लिए नलिएको जस्ता विभिन्न कुराहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बजारमा ९ सय बोरा चामल मौज्दात रहेको पाइएको छ ।
४ सय ८५ कार्टुन तेल ३ सय २८ बोरा चिउरा मौज्दात रहेको पाइएको छ । पहिरोले खुर्कोटको पुल बगाएको भएपनि वैकल्पिक बाटोको प्रयोग गरेर भएपनि सामानहरु ल्याइने रामेछाप बजारका व्यवसायी प्रभुराम खड्काले बताउनुभयो । सामानको अभाव हुन्छ भनेर धेरै उपभोक्ताहरुले आवश्यकता भन्दा बढी सामान खरिद गरेर लगेको बताउनुभयो । दशैँमा कुनै पनि सामानको अभाव नहुने भन्दै उहाँले सामानहरु घरमा लगेर नथुपार्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
बजारको अनुगमनमा खाना पकाउने ग्याँसको भने अभाव रहेको पाइएको छ । कुनै पनि पसलमा मौज्दात ग्याँस नरहेको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । बजारका पसलहरुमा चिनीको मुल्य पसल अनुसार फरक रहेको पाइएको छ । अनुगमन टोलीले चिनिको मुल्यमा एकरुपता कामय गर्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।
मौज्दात रहेका सामानहरुको अभाव सृजना नगर्न,मुल्य वृद्धि गरेर उपभोक्तालाई नठग्न अनुगमन टोलीले व्यवसायीहरुलाई निर्देशन दिइएको हो । नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदी,राजश्व,उद्योग तथा सहकारी शाखाका प्रमुख हरि भगत श्रेष्ठ,पत्रकार,प्रहरी सहितको उपस्थितीमा बजार अनुगमन गरिएको हो । यसभन्दा अघि नगरपालिकाले साँघुटार बजारका २८ वटा पसलहरु अनुगमन गरेको थियो ।