सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप

सिन्धुलीको जुनारमा सुँडे पुतलीको प्रकोप देखिएको छ । जुनारको फल चुस्ने सुँडे मोथ पुतली व्यापक मात्रामा देखा परेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो ।

पुतलीबाट क्षति हुने दरले प्रकोपकै रूप लिएपछि पालिकाले पुतली समात्ने र मार्ने उपाय निकालेको उहाँले बताउनुभयो । यहि १५ भाद्रमा गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष निकालिएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

गाउँपालिकाले जुनार÷सुन्तलामा हुने क्षति न्यूनीकरणको लागि सूचना नै प्रकाशन गरी सुँडे मोथ पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रति पुतली २ रुपियाँ प्रोत्साहन दिने निर्णय भएको अध्यक्ष बरालले बताउनुभयो ।

सिन्धुलीमा रहेका ९ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै जुनार खेती हुने क्षेत्रफल र कृषकको संख्या गोलन्जोर गाउँपालिकामा रहेको छ । जुनार खेतीबाट कृषकहरूलाई राम्रो आम्दानी हुने भए पनि बेलाबखत विभिन्न रोग किराले सताइरहेको छ ।

रामेछाप जिल्लामा भने सुँडे पुतलीको प्रकोप देखा नपरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापका कृषि प्राविधिक भवानी बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार