रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछापमा वर्तमान अवस्थामा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको आयोजनामा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामेछापमा राजनैतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पेसागत चुनौती बढेको गुनासो गरेका छन ।

स्थानीय, सङ्घ र प्रदेश तीनै तहको सरकारले सञ्चार क्षेत्रको विकासका लागि खासै वास्ता नगर्दा जिल्लाका कतिपय सञ्चारमाध्यम बन्द भइसकेको र कति बन्द हुने अवस्थामा पुगेकाले पेसागत चुनौती बढेको पत्रकारहरूको गुनासो छ ।

जिम्मेवार निकायबाट नै पत्रकारहरूलाई स्वार्थ पुरा गर्नका लागि मात्रै प्रयोग गर्ने र यसमा खुसी हुने जस्ता परिपाटीको विकास हुँदा थप समस्या भएको पत्रकारहरूको गुनासो छ ।

राजनीतिक दलहरूले नै पत्रकारहरूलाई यो पार्टी त्यो पार्टी भने ट्याक लगाउने तर यस्ता मिडियाको विकास र ती मिडियामा काम गर्ने पत्रकारहरूको अवस्थाका बारेमा भने राजनीतिक दलहरू बेमतलबी बनेको पत्रकारहरूको गुनासो छ ।

जिल्लामा सञ्चालित सञ्चार माध्यमहरूको संरक्षण र विकास गर्ने स्थानीय सरकारको दायित्व भए पनि एकाध बाहेकका स्थानीय सरकारले जिल्लाका मिडियालाई केही सहयोग नगरेको पत्रकारहरूको गुनासो छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सञ्चार मैत्री बनाउनका लागि सम्बन्धित राजनीतिक दलले कुनै पनि भूमिका खेल्न नसकेको उनीहरूको गुनासो छ । राजनीतिक पार्टीले पत्रकार र सञ्चार माध्यमलाई निर्वाचन र आफूलाई समस्या पर्दा मात्रै प्रयोग गर्ने गरेको पत्रकारहरूको गुनासो छ ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उप–सभापति लेख बहादुर कार्कीले पत्रकार र पत्रकारिता क्षेत्रसँग जोडिएको समस्याले नेपाली काँग्रेसलाई गम्भीर बनाएको बताउनुभयो ।

सबै राजनीतिक पार्टीका पत्रकार आबद्ध आ–आफ्नै संगठन रहेकाले ती संगठनमा पत्रकारिता क्षेत्रका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल गरी त्यसबारे आ–आफ्ना राजनीतिक दललाई जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ । रामेछाप जिल्लाको पत्रकारिता क्षेत्रको विकासका लागि नेपाली काँग्रेस रामेछाप गम्भीरताका साथ लाग्ने उहाँको प्रतिबद्धता छ ।

नेकपा एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले यो मुलुकमा भएका जति पनि परिवर्तनहरू आएका छन् त्यसमा पत्रकारहरूको पनि राजनीतिक पार्टीहरु सरह योगदान रहेको बताउनुभयो ।

पत्रकारिता क्षेत्रसँग जोडिएका तमाम समस्याहरूको समान धान गरी यो क्षेत्रको विकासका लागि देशका सबै राजनीतिक पार्टीहरू लाग्ने उहाँको भनाइ छ । रामेछाप जिल्लाको पत्रकारिता क्षेत्रको समस्या समाधान र विकासका लागि नेकपा एमाले पनि गम्भीर रूपमा लाग्ने उहाँको भनाइ छ ।

नेकपा माओवादी केन्द्र रामेछापका नेता उद्धव रम्तेलले रामेछाप जिल्लाको पत्रकार क्षेत्रसँग जोडिएका धेरै गम्भीर विषयहरू उठेकाले यो सबै राजनीति पार्टीहरूका लागि पनि गम्भीर छलफलको विषय बन्ने बताउनुभयो ।

राप्रपा नेपाल रामेछापका अध्यक्ष रामचन्द्र कडेंलले पत्रकारिता लोकतन्त्रको खम्बा भएकाले यसको संरक्षण र विकासका लागि राज्य लाग्नुपर्ने बताउनुभयो । अहिले पत्रकारिता क्षेत्र बिस्तारै धराशायी बाटोमा लागेकाले यो क्षेत्र धराशायी बन्यो भने लोकतन्त्र नै मासिने खतरा बढ्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार