गुणस्तरीय स्वास्थ्य सुविधा पाएपछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राहीको भीड बढ्न थालेको छ । गुणस्तरीय सेवा सुविधाकै कारण हाल दैनिक १ सय ५० को हराहारीमा बिरामी अस्पतालमा सेवा लिन आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो ।
नयाँ भौतिक संरचना र विभिन्न सेवाहरु थप भएसँगै अस्पतालले गुणस्तरीय सेवा दिन सक्दो प्रयास गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । उहाँका अनुसार अस्पतालले यहि भदौ १ गतेदेखी जनरल बेड निःशुल्क गरेको छ ।
अहिले जिल्ला अस्पतालमा हर्नियाँ, हाइड्रोशील,प्रसूति शल्यक्रिया, अक्सिजन सहितको स्वास्थ्य सेवा, दन्त सेवा, आँखाको सेवा, डाइलसिस सेवा, जनरल ओपिडी सेवा लगायत अन्य विभिन्न सेवाहरू संचालनमा रहेको अध्यक्ष पाख्रिनले बताउनुभयो । अस्पतालले सेवा सुधारेकै कारण बिरामीहरुको विश्वास बढदै गएको छ । अब अस्पताल ५० शैयाको बनाउने प्रक्रिया समेत अघि बढिसकेको अध्यक्ष पाख्रिनको भनाई छ ।