रामेछाप नगरपालिकाले महिलाहरुलाई मेसिनबाट दुना टपरी बनाउन सिकाउदै

रामेछाप नगरपालिकाले महिलाहरुलाई मेसिनबाट दुना टपरी बनाउन सिकाउदै

रामेछापको रामेछाप नगरपालिकाले नगरका महिलाहरुलाई मेसिनको प्रयोग गरी दुना टपरी बनाउन सिकाउन थालेको छ । पछिल्लो समय लोपहुँदै गएको दुना टपरीलाई संरक्षण गर्दै जंगलमा खेर गैरहेका सालको पातलाई प्रयोग गरेर व्यवसायिक उत्पादनसँग जोड्ने योजना अनुसार दुना टपरी बनाउन सिकाउन थालिएको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो ।

उहाँले शुक्रबार (आज) मेसिनद्धारा दुना टपरी बनाउने सीप विकास तालिमको उद्धघाटन गर्दै अब नगरमै दुना टपरी बनाउने उद्योग सन्चालन गर्ने बताउनुभयो । सालको पात टिपेर दुनाटपरी बनाउने चलन हराउदै गएको र बजारमा राम्रो माग भएपनि दुना टपरी बनाउने पेशा संकटमा परेको भन्दै महिलालाई दुना टपरी बनाउने तालिम दिईएको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै महिलाको आयआर्जनमा सहयोग पुग्ने दुनाटपरीको नगरपालिकामा राम्रो सम्भावना रहेको उपप्रमुख खड्काले बताउनुभयो । नगरका ९ वटै वडामा सालको पात पर्याप्त मात्रामा पाईने र आफ्नै घरमा बसेर व्यवसाय गर्न सकिने भएकाले पनि यो तालिमले महिलाहरुलाई स्वरोजगार बनाउन निकै मद्धत पुग्ने उहाँको विश्वास छ ।

१५ दिनसम्म सन्चालन हुने मेसिनद्धारा दुना टपरी बनाउने सीप विकास तालिममा नगरपालिकाका प्रत्येक वडाहरुबाट एक÷एक जना सहभागी भएका छन । प्रशिक्षक सरिता बुढा मगरले सहभागी महिलालाई दुना टपरीसँगै आधुनिक चारकुने र पाँच कुने विभिन्न शैलीका टपरी बुन्न सिकाउने नगरपालिकाका राजश्व उद्योग वाणिज्य तथा सहकारी उपशाखाका प्रमुख हरि भगत श्रेष्ठले जानकारी दिनुभयो । हाम्रा धर्मसंस्कृति, परम्परा र चाडपर्वमा दुनाटपरी अपरिहार्य मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार