आज देशका चार प्रदेशमा मौसम बदली रहने

आज देशका चार प्रदेशमा मौसम बदली रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका चार प्रदेशमा मौसम बदली रहने जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको र आज विशेषगरी चार प्रदेशमा मौसम बदली रहने जनाएको हो । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशका विभिन्न भागमा मौसम बदली हुने भएकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार