नेपालमा एक सातामा १४ प्रतिशतले घट्यो कोरोना सङ्क्रमणको दर,निको हुनेदर बढ्दै

नेपालमा एक सातामा १४ प्रतिशतले घट्यो कोरोना सङ्क्रमणको दर,निको हुनेदर बढ्दै

नेपालमा कोरोना सङ्क्रमणको दर घट्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साता गरिएको कुल परीक्षणभन्दा यो साता कोरोना सङ्क्रमण पुष्टि हुनेदर १४ दशमलव ३ प्रतिशतले घटेको छ । कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले गत साता १ लाख २० हजार २ सय ९९ आरटी पिसिआर परीक्षणमा ५९ हजार ६ सय ६५ कोरोना सङ्क्रमण पुष्टि भएको र यो साता ८४ हजार २ सय ३१ आरटी पिसिआर परीक्षणमा २९ हजार ६ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँले हाल नेपालमा सङ्क्रमण पुष्टि हुनेदर ३५ दशमलव २ प्रतिशत रहेको र यो गत साताको तुलनामा १४ दशमलव ३ प्रतिशतले घटेको पनि बताउनुभयो । यस्तै गत साता ३८ हजार ४ सय ३३ एन्टिजेन कोरोना परीक्षण गर्दा १३ हजार ७ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने यो साता गरिएको कुल ३९ हजार २ सय ७४ एन्टिजेन गरिएको परीक्षणमा १२ हजार ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन ३२ दशमलव ९ प्रतिशत हो र यो गत साताको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ ।

हिजो देशभर जम्मा ३ हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जबकी ७ हजार ५ सय ५५ जना स्वस्थ भएका छन् । यस्तै सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत हिजो एकैदिन हालसम्मकै धेरै मानिसले खोप लगाएका छन् । मन्त्रालयका अनुसार हिजो ८ लाख १५ हजार ७ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रवक्ता डा.मिश्रले यो साता १२ देखि १७ वर्ष उमेर समूहकाले खोप लगाउने दर २ प्रतिशतले बढेको बताउनुभयो । सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय विभिन्न मुलुकबाट खोप ल्याउने क्रम पनि तीव्र बनेको छ । सरकारले पालो अनुसार खोप लगाउन र कोरोना सङ्क्रमणको दरमा कमी आएपनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार