तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यरहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत दलका शीर्ष नेताहरुले पर्वको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारले बृहत राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल पनि गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोन् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार