भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहान ९ बजेबाट सातवटै प्रदेशमा मतादन हुने भएकाले आवश्यक सबै तयारी पूरा भएको आयोगले जनाएको हो । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि भोलि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ।

मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत सुरु भएको आयोगको भनाइ छ ।आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले  बताउनुभयो ।

आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।सातवटा प्रदेशमा कुल २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ।प्रदेश १ को विराटनगरमा मतदान हुनेछ भने मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ। बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ। यहाँ दुईवटा मतदान केन्द्र बनाइएको छ। भोलि हुने निर्वाचनका लागि सुरक्षा र स्वास्थ्य सुरक्षाको तयारी पनि पूरा भएको जनाएको छ । भोलिको चुनावमा कोरोना सङ्क्रमितका लागि पनि मतदान गर्ने व्यवस्था मिलाइएको धमलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार