सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रालगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो ।
पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । उहाँले कोरोनाको बुस्टर मात्रा पूर्ण मात्रा खोप लगाएको ६ महिना कटेकाहरूलाई पहिलो लिएको खोपकै थप एक मात्रा खोप लगाइने जानकारी दिनुभयो ।
बुस्टर मात्रा लगाउनका लागि सबै प्रदेश र स्वास्थ्य निर्देशनालयलाई परिपत्र गरिसकेको भन्दै उहाँले बुस्टर लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गर्नुभयो । सरकारले ६० वर्ष र सोभन्दा माथि उमेर समूहका नागकिलाई भने माघ १४ गतेबाट कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने पनि तयारी गरेको छ ।
यता रामेछापमा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लगायतलाई खोप अभावका कारण बुस्टर डोज खोप अभियान सञ्चानल गर्न नसकिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।