काँग्रेस शीर्ष नेतृत्व महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त

काँग्रेस शीर्ष नेतृत्व महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त

नेपाली काँग्रेसका शीर्ष नेताहरु भोलि सुरु हुने काँग्रेस महाधिवेशन केन्द्रीत छलफल र गुटगत भेलामा व्यस्त भएका छन् । संस्थापन पक्षले आज उम्मेद्वारहरूको टुङ्गो लगाउने गरि छलफल गरिरहेको नेता मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँले सभापतिमा शेरबहादुर देउवा नै सर्वसम्मत रहेको बताउनुभयो । यस्तै पदाधिकारी चयनको लागि सभापति देउवाले निर्णय गर्ने उहाँको भनाइ छ । प्रदेशगत रुपमा नेताहरुले भूगोल, जातजाती नछुट्ने गरी ८ जना सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गर्ने नेता विश्वकर्माले बताउनुभयो ।

उहाँले नेतृत्व चयनका लागि आन्तरिक तथा बाह्य रुपमा छलफल गरिरहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई बोलाएर उनीहरुको आकाङ्क्षा बुझ्नुभएको छ भने केहीलाई उम्मेदवार उठाउने आश्वासन पनि दिनुभएको छ ।

यता संस्थापन इतर पक्षमा भने सभापतिको साझा उम्मेद्वारको टुङ्गो लगाउनै सकस भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला लगायतको बैठक निरन्तर रूपमा बसिरहेको भएपनि कसलाई सभापति बनाउने भन्ने टुङ्गो भने लाग्न नसकेको नेता जीवन परियारले सीआईएनलाई बताउनुभयो । आज बिहान फेरि छलफल गरेर सभापतिको साझा उम्मेद्वार तय गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार