एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने

एमालेले महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने

नेकपा (एमाले)ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जनाप्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ ।

कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने बताउनु भएको छ । यसअघि कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि रहने निर्णय गरेकोमा हिजो आयोजित एक कार्यक्रममा पोखरेलले प्रतिनिधि बढ्नसक्ने सङ्केत गर्नुभएको हो ।

उहाँका अनुसार महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन् । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् । भौगोलिक क्षेत्र, जनवर्गीय सङ्गठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् ।

पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् ।

४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ। यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार