जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाउनुभएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो ।
खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको रजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिनुभयो। खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो ।
खड्का माथि लिखु तामाकोसी गाउँपालिकाका एक उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई पालिकाको कोठामा थुनेर योजनाको भुक्तानीका बारेमा दबाब दिएको भन्दै शरीर बन्धक मुद्दा र पालिकामै काम गर्ने एक स्वास्थ्यकर्मीमाथि जबरजस्ती करणी मुद्दा दायर भएको थियो ।
उक्त मद्दामध्ये रामेछाप जिल्ला अदालतले खड्कालाई जबरजस्ती मुद्दामा पुर्पक्षका लागि रामेछाप कारागार पठाएकोमा उच्च अदालतको आदेशले करिब ४ महिनापछि खड्का तारेखमा रिहा भएका थिए ।
खड्काले दुवै मुद्दा राजनीतिक प्रतिशोधको आधारमा लगाइएको भन्दै आफू निरपराध रहेको जिकिर गर्दै आउनुभएको थियो । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिबीच विवाद हुँदा एक अर्काबीच मुद्दा हाल्नेदेखि विकास निर्माणका कार्य समेत यसबीचमा प्रभावित हुँदै आएका थिए ।