बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ ।

१५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै प्रदेश साक्षरता घोषणा गरिएको हो ।

प्रदेशमा साक्षर जिल्ला घोषणा हुदाँ १५–६० उमेर समूहका १६ लाख ३४ हजार १६७ निरक्षर मध्ये १५ लाख ८८ हजार ८२२ साक्षर भएका छन् । जुन ९७.२२ प्रतिशत रहेको छ । प्रदेशमा अब ४५ हजार ३४५ जना निरक्षर रहेको शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइटेलले बताउनुभयो ।

उहाँले प्रदेशभित्र बसोबास गर्ने १५–६० उमेर समूहका व्यक्तिहरुको साक्षर प्रतिशत ९५ वा सो भन्दा माथि भए पश्चात प्रदेश साक्षर घोषणा गर्न सकिने बताउनुभयो ।
प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा सत्प्रतिशत साक्षर रहेको र कम साक्षरता दोलखा ९५.३७ प्रतिशत रहेको छ ।

शिक्षा विकास निर्देशनालयका अनुसार धादिङमा ९८.४०, मकवानपुरमा ९८.९७, चितवनमा ९७.५०, नुवाकोट ९८.१९, भक्तपुरमा ९६.७०, रामेछापमा ९६.४०, सिन्धुलीमा ९९.१३, रसुवामा ९६.२९, काभ्रेपलान्चोकमा ९६.४८, काठमाडौंमा ९६.८८ र सिन्धुपाल्चोकमा ९७.६८ प्रतिशत साक्षरता रहेको छ ।

अब प्रदेश सरकारले प्रदेशभित्र बाँकी निरक्षरलाई साक्षर बनाउन स्थानीय तहसँगको सहकार्यमा जीवन र जगतको बोध, दैनिक जीवनका सीपको विकास र ज्ञान प्रस्फुटनको लागी विश्वव्यापी, ज्ञान, सीप, प्रविधि र सिकाइमा रहेर साक्षरता बनाउनपर्ने निर्देशक लुइटेलले बताउनुभयो । उहाँले घोषणासँगै दिगो साक्षरताको, प्रणाली सुधार र एकीकृत प्रणाली स्थापनाको चुनौति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार