वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,रामेछापका पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,रामेछापका पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइँदा केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक विकास र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिँदा चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

यसैगरी, मुख्यमन्त्री शाक्यले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री तथा बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबार नै शपथ लिनुभएको छ ।

मन्त्रीहरुको नियुक्तिसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । संसदमा अल्पमतमा रहनुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद भने विस्तार गर्नुभएको हो । एमालेका केही सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाले शाक्य अल्पमतमा पर्नुभएको हो । एमालेका ५६ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार