बुबाको मुख हेरेर कुशे औँसी मनाइँदै

बुबाको मुख हेरेर कुशे औँसी मनाइँदै

आज भाद्रकृष्ण औँसी, वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजउखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । आजको दिनलाई कुशे औंसी भनिन्छ । आज छोराछोरीले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई बुबाको मुख हेर्ने चलन छ ।

बुबा नहुनेहरूले बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

तर कोरोनाको सङ्क्रमण फैलने जोखिम रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार