पार्टी विस्तारको कामलाई तिव्रता दिँदै नेकपा एकीकृत समाजवादी

पार्टी विस्तारको कामलाई तिव्रता दिँदै नेकपा एकीकृत समाजवादी

नेकपा एमालेबाट फुटेर नयाँ बनेको नेकपा एकीकृत समाजवादीले पार्टी विस्तारलाई तिव्रता दिएको छ । संघ, प्रदेशका सांसद तथा केन्द्रीय नेतालाई आफ्नो पक्षमा पार्न मिहनेत गरेको पार्टीले नगर तथा गाउँपालिका र वडा तह सम्मकै जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ । गौतमले हिजो साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिनुभएको हो । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको छ ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बन्नुभएको थियो । उहाँ हालसम्म कुनै पनि पार्टीमा लाग्नुभएको छैन । नेकपा एमालेका नेताहरुले भने अध्यादेश मार्फत पार्टी फुटाउने खेल खेलेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा भएको एउटा कार्यक्रम एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फट्नु गलत भएको बताउनुभयो । हिजै ललितपुरमा भएको एउटा कार्यक्रममा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गर्नुभएको छ ।

तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार