आज ५४ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

आज ५४ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

नेपाली काँग्रेसको सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनका लागि निर्वाचन टोली अधिवेशन स्थल पुगेका छन् । आज ५४ जिल्लामा मात्र वडा अधिवेशन हुने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

सदस्यता विवाद समाधान हुन नसक्दा २३ जिल्लाको वडा अधिवेशन आज नहुने नेपाली काँग्रेसले जनाएको छ । भदौ २७ मा गाउँ र नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । बाँकी रहेका जिल्लाको अधिवेशन भदौ २५ गतेभित्र सम्पन्न भइसक्ने नेता ढुङगानाले बताउनुभयो ।

यसैबीच नेपाली काँग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

काँग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । नेपाली काँग्रेसको १४ आँै केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार